महाशिवरात्रीमा दिवंगत संगीत स्रष्टाहरुलाई श्रद्धाञ्जली

 पोखरेली युवा सांस्कृतिक परिवारले महाशिवरात्रीको अवसरमा दिवंगत संगीत स्रष्टाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सामूहिक सांगीतिक जयन्ती कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको संगीत विभागको सक्रियतामा आयोजित यस कार्यक्रमले वर्षभरि संगीत क्षेत्रमा योगदान पुर्‍याएर संसारबाट बिदा भएका कलाकारहरूलाई सम्झिएको थियो। पोखरेली युवा सांस्कृतिक परिवारले श्री पञ्चमीमा सामूहिक साहित्यिक जयन्ती, महाशिवरात्रीमा सामूहिक संगीत स्रष्टा जयन्ती र वैशाख १ गते नववर्षको अवसरमा सामूहिक कलाकार जयन्ती मनाउँदै आएको छ। यस वर्षको महाशिवरात्रीको कार्यक्रममा वरिष्ठ गायिका एवं संस्थाका संस्थापक सदस्य बाबा राणाले भजन प्रस्तुत गर्दै दिवंगत स्रष्टाहरुको सम्मानमा आयोजित कार्यक्रमको प्रशंसा गर्नुभयो। कार्यक्रममा संस्थाका सल्लाहकार ईश्वरमणि अधिकारीले संगीतको उत्पत्ति र महत्वबारे प्रकाश पार्दै भन्नुभयो, ‘आदिकालमा भगवान शिवले बजाउने डमरूको ध्वनि नै आदिसंगीत हो भन्ने पूर्वीय विश्वास छ। संगीतको सम्बन्ध मानिससँग मात्र नभई चराचर जगतसँग पनि गाँसिएको छ।” उहाँले यसै वर्ष गीतकार प्रकट पगेनी शिव, भक्तराज आचार्य, शास्त्रीय संगीत गुरु गुरुदेव कामत, युवा संगीतकर्मी संजीव पौडेल, शान्ति थापा, योगेश वैद्य, एलपि जोशी, नृत्यांगना चन्द्रा थापा लगायतका कलाकारहरू गुमाएकोमा दुःख व्यक्त गर्दै सबैप्रति श्रद्धासुमन व्यक्त गर्नुभयो। कार्यक्रममा झलकमान सारङ्गी पाठशाला, राजेश घिमिरे, पूर्णिमा रसाइली, तिलक बराल मगर, कोमल गुरुङ, संयोग पुन, समीर पुन, देवेन्द्र ढकाल, आयशा पराई, प्रदीप सारु, सयपत्री लोकधुन समूह, लक्ष्मी गिरी, आर्जव पौडेल, अमृत गौतम, शर्मिला विक, टीना बराल, संस्कार गौतम, सुनिल बराल, जय चापागाईं र एमडी काफ्ले लगायतले आ-आफ्नो सांगीतिक प्रस्तुति दिनुभएको थियो। वाद्यवादनमा रोम तामाङ (हारमोनियम), रामभक्त जोजिजु (हारमोनियम), मिलन गिरी (तबला), विवेक ढकाल (किबोर्ड), आर्जव पौडेल (बाँसुरी), समीर पुन (मादल), रोहन जंग कुँवर र अमित गौतम (गितार) ले साथ दिनुभएको थियो। संस्थाका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव एमडी काफ्लेले गर्नुभएको थियो। यस कार्यक्रमले पोखराको सांगीतिक क्षेत्रमा दिवंगत कलाकारहरूको योगदानको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।