सरुभक्त श्रेष्ठ

सरुभक्त (२०५४) वि.सं. २०५४ सालको शिरोमणि पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रतिभा छनोट समिति गठन गरियो । प्रकट पगेनी ‘शिव’ अध्यक्ष रहेको सो समितिमा पुष्प आचार्य, अलिमियाँ, सर्वज्ञमान प्रधानाङ्ग र दुर्गा बराल सदस्य रहेका थिए । उक्त समितिले सो पुरस्कार सरुभक्तलाई प्रदान गर्ने निर्णय ग¥यो । गण्डकी अञ्चलमा रहेर कविता लेखनबाट आफ्नो साहित्यिक यात्रा आरम्भ गरेका सरुभक्त छोटो समयमै नेपाली साहित्यका कविता, कथा, उपन्यास र नाटकजस्ता विधामा सशक्त रूपमा कलम चलाउन सफल भएका छन् । उनको यही साहित्यिक योगदानको कदर स्वरूप वि.सं. २०५४ सालमा शिरोमणि पुरस्कार प्रदान गरियो । वि.सं. २०३३ सालदेखि औपचारिक रूपमा आफ्नो रचना प्रकाशन गरी साहित्यिक यात्रा आरम्भ गरेका सरुभक्त हालसम्म पनि अविच्छिन्न रूपमा यस क्षेत्रमा क्रियाशील रहेका छन् । पोखरामा रहेका विभिन्न सङ्घसंस्थामा आबद्ध रही साहित्यिक उत्थानमा जुटेका सरुभक्त युवा साहित्यकारहरूको प्रेरणाका स्रोत बनेका छन् ।