पोखरामा विश्वसङ्गीत दिवसको थालनी

पोखरामा विश्वसङ्गीत दिवसको थालनी उत्तरी गोलाद्र्धको सबैभन्दा लामो दिन जुन २१ मा मनाइँदै आएको विश्व सङ्गीत दिवस पोखरामा मनाउने थालनी पोखरेली युवा सांस्कृतिक परिवार (पोखरा)ले शुरु गरेको हो । अमेरिकी नागरिक जोन कोहल्गीको परिकल्पनालाई साकार रूप दिँदै फ्रेन्च नागरिक सङ्गीतकार तथा नृत्यनिर्देशक मोरिसा क्लेरनको अगुवाइमा सन् १९७६ देखि फ्रान्समा मनाउन शुरु गरिएको विश्व सङ्गीत दिवसको कार्यक्रम वि.सं. २०५५ देखि काठमाडौंमा र २०६० देखि कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठको विशेष पहलमा पोखरामा पनि मनाउन शुरु गरिएको यो कार्यक्रम विभिन्न वाङ्मयिक संस्थाहरूद्वारा हरेक वर्ष विविध सांस्कृतिक कार्यक्रमका साथ निरन्तर अयोजना गर्ने गरिन्छ । हरेक वर्ष एउटा संस्था मूल आयोजक र अन्य पोखरेली वाङ्मयिक संस्थाहरू सह–आयोजकका रूपमा रहने नियमअनुसार पोखरेली युवा सांस्कृतिक परिवार (पोखरा), अली मियाँ लोक वाङ्मय प्रतिष्ठान (पोखरा) सङ्गीत प्रशिक्षण केन्द्र (पोखरा), हिमाली सांस्कृतिक परिवार (पोखरा), झिंगु भाय झिंगु संस्कृति पुच (पोखरा), सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान (पोखरा), अनुशीलन सङ्गीत पाठशाला (पोखरा), त्रिवेणी सङ्गीतालय (पोखरा), जोजिजु म्यूजिक सेन्टर (पोखरा), भक्ति सङ्गीत प्रतिष्ठान (पोखरा), तराना म्युजिक सेन्टर (पोखरा), पोखरेली साङ्गीतिक कलाकार सङ्घ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान (कास्की), पोखरा लोकसङ्गीत समूह, पोखरा नाच घर, झलकमान गन्धर्व सारङ्गी पाठशाला (पोखरा), साङ्गीतिक कलाकार सङ्घ नेपाल, कास्की र गुरुकुल सङ्गीत प्रशिक्षण केन्द्र (पोखरा) रहेका छन् । तद्नुसार जुन २१ का दिन विविध सांस्कृतिक कार्यक्रममा साथ कार्यक्रम आयोजना गर्ने गरिएको छ । सोही दिन पोखरा बजार परिक्रमा गर्ने गरी मोटरसाइकल र्‍यालीको समेत आयोजना गर्नेगरिन्छ । सबै संस्थाहरूको प्रस्तुति र अतिथि कलाकारका रूपमा ख्यातिप्राप्त स्रष्टाहरूको समेत प्रस्तुति रहने कार्यक्रममा सङ्गीतका विभिन्न विधाहरूको स्वाद ग्रहण गर्न सकिने छ । -मोती भुजेल