कवि सरस्वती श्रेष्ठ ‘सरु’ को तेस्रो कृति ‘फूलहरुको आँधी’

कवि सरस्वती श्रेष्ठ ‘सरु’ को तेस्रो कृति ‘फूलहरुको आँधी’ एक समारोहकाबीच लोकार्पण गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा पोखरामा भएको समारोहमा कवि तीर्थ श्रेष्ठले कविता कृति लोकार्पण गरे । ४१ वटा कविता सँग्रहित ‘फूलहरुको आँधी’ को समिक्षा गर्दै साहित्यकार जीवनसागर भण्डारीले यसमा फरक परिवेश र शैलीका कविता पढ्न पाइने बताए । कवि सरुको यसअघि ‘थुङ्गा थुङ्गा जिन्दागानी’ गीत संग्रह र ‘एक झुल्को घाम ओर्लेर सडकमा’ कविता संग्रह प्रकाशित भइसकेका छन् । समारोहमा कवि तीर्थ श्रेष्ठले अभिव्यक्तिको मोहले नै साहित्य सिर्जना हुने भन्दै थपे, “एकै खालको जीवन सम्भव नहुने भएकाले साहित्य रचनामा विविधता हुन्छ ।” समारोहमा संग्रहमा समेटिएका कविता कविहरु सरस्वती प्रतिक्षा, गौरी गुरुङ र अमृत सुवेदीले वाचन गरेका थिए । https://www.himalkhabar.com/news/4472