पोखरेली युवा साँस्कृतिक परिवार विन्ध्यवासिनी, पोखरा २ नेपाल    पृष्ठभूमि परिचय पोखरेली युवा साँस्कृतिक परिवार आफ्नो स्थापनाकाल वि.सं. २०३४ सालदेखि नै “साहित्य, कला र सङ्गीतको उत्थानः हाम्रो प्रण” भन्ने उद्घोष तथा गुञ्जनका साथ यसको उन्नयन, विकास र सम्बद्र्धनमा निरन्तर रूपमा क्रियाशील रहँदै आएको नाफारहित वाङ्मयिक संस्था हो । यसको आयाम र आयतन पोखरा सेरोफेरोमा मात्रै सीमित नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएको छ । उद्धेश्य लक्ष्य साहित्य, कला र सङ्गीतको उत्थान गर्नु । मानिसको चेतनास्तर अभिवृद्धि गरी आत्मसम्मान सहितको सुसंस्कृत तथा सभ्य समाजको स्थापना गर्नु । समाजमा सिर्जनात्मक अभिव्यक्तिको प्रतिविम्बन गर्नु । पोखरेली युवा साँस्कृतिक परिवार ३८ वर्ष अगाडि स्थापना हुँदा मोफसलमा सङ्गठित रूपमा साहित्य, कला, सङ्गीत र साँस्कृतिक गतिविधिहरु न्युन थिए । वाङ्मयिक क्षेत्रको उत्थान, सम्वद्र्धन र संरक्षणको मुख्य उद्धेश्य नै संस्थाको मूल मन्त्र हो । वाङ्मयिक क्षेत्रमा गरिने क्रियाकलापले मानिसको चेतनास्तर अभिवृद्धि गराउँदै संस्कारयुक्त सभ्य समाजको स्थापनामा टेवा पु¥याउनु यसको लक्ष्य हो । संस्थाले गर्ने क्रियाकलाप र गतिविधिले प्रतिभा प्रष्फुटन, प्रतिभाको विकास, प्रतिभाको सम्मान र कदर गर्दै आम मानिसमा सिर्जनात्मक सन्देश र आल्हादको शङ्खनाद गर्ने हो । संस्थाका कामहरुः  पोखरेली युवा साँस्कृतिक परिवारले समग्र वाङ्मयिक क्षेत्रमा उल्लेखनीय कामहरु गर्दै आएको सर्वविदितै छ । टिकटमा मुक्तक कार्यक्रमः आफ्नो स्थापना कालदेखि नै सिर्जनाको मूल्य हुन्छ भन्ने मर्मलाई आत्मसात गर्दै अहिलेसम्म यो कार्यक्रम गरिरहेको छ । सामूहिक साहित्यकार जयन्तीः नेपाली साहित्यमा योगदान दिएर अमर भएका दिवङगत स्रष्ट्राको जन्मदिवसलाई सामूहिक रूपमा मनाउँदै आएको छ । समता काव्य सन्ध्याः वि.सं.२०५० वैशाखदेखि कविताको अघोषित पाठशाला school of poetry का रूपमा हरेक महिनाको पहिलो शनिबार स्रष्टाका सिर्जना वाचन र श्रवणको २८३ औं शृङ्खला सम्पन्न गरिसकेको छ । समता कला कार्यशालाः कला जगतमा पोखरालाई पानी रंग school of water color का रूपमा पहिचान दिन कलाकारहरू विभिन्न ठाउँहरूमा गई तत्स्थानीय चित्राङ्कन गर्छन् । हरेक ३/३ महिनाको तेस्रो शनिबार गर्ने यसको ५३ औं शृङ्खला सम्पन्न भइसकेको छ भने वर्षभरिमा सिर्जना गरिएका कलाहरूको सामूहिक प्रदर्शनी गर्ने गरिन्छ । समता साङ्गितिक कार्यक्रमः कला र गला भएका गीत सङ्गीतका पारखीलाई साधना गर्न र नवोदित प्रतिभाको प्रस्फुटन गराउन हरेक २/२ महिनाको दोस्रो शनिबार आयोजना गर्ने कार्यक्रमको ८३ औं शृङ्खला सम्पन्न भइसकेको छ । पुस्तक प्रकाशन र परिचर्चा कार्यक्रमः संस्थाले नवोदित र मानक स्रष्टाका सबै विधाका पुस्तक प्रकाशन गरेको छ । प्रकाशित पुस्तकहरुको विमोचन र परिचर्चा गर्दै आएको छ । अनुभव र अनुभूति कार्यक्रमः वाङ्मयिक जगतका ख्यातिप्राप्त व्यक्तित्वहरुलाई राखेर रचना गर्भ र सिर्जनात्मक मर्मलाई अभिव्यक्त गर्ने यो कार्यक्रममा १ दर्जन भन्दा बढी स्रष्टालाई प्रस्तुत गरिएको छ । स्रष्टा, सिर्जना र साँझः एकल कविता वाचन कार्यक्रमः मानक स्रष्टालाई आफ्ना प्रतिनिधि रचना प्रस्तुतिका लागि एकल कविता वाचन कार्यक्रम गरिदै आएको छ । यस कार्यक्रममा अहिलेसम्म १२ जना कविहरुले आफ्नो प्रस्तुति दिइ सकेका छन् । पोखरा काव्य उत्सवः दुई दिवसीय नेपाल र भारतका कविहरुलाई एकसाथ कविता वाचन र अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कला सिर्जना र प्रदर्शनी, क्षेत्रीय तथा राष्ट्रिय नाटक प्रदर्शनी एवम साङ्गितिक प्रस्तुति लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । पुरस्कार र सम्मानः संस्थाले हरेक वर्ष साहित्य, कला र सङ्गीत क्षेत्रमा योगदान पु¥याउने सष्टालाई पुरस्कृत र सम्मान गरिरहेको छ । जसका लागि अक्षय कोष स्थापना गरि साहित्यमा शिरोमणि पुरस्कार, नेत्र स्मृति पुरस्कार, कलामा ललितकला पुरस्कार र सङ्गीतमा सोम बज्राचार्य स्मृति सङ्गीत पुरस्कार को स्थापना र सञ्चालन गर्दै आएको छ ।  प्रभावः साहित्यको राजधानी सहरका रुपमा पोखरालाई पहिचान दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कवि गोष्ठी एवम् पोखरा काव्य उत्सव, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कला सिर्जना र प्रदर्शनी, क्षेत्रीय तथा राष्ट्रिय नाटक प्रदर्शनी एवम साङ्गीतिक कार्यक्रमहरुले पोखराको पहिचानलाई उचाइमा पुयाएको छ ।