समता काव्यमा नायक बने निमेश निखिल

३ असार, पोखरा । कवि निमेश निखिलले काव्य सन्ध्या नायकका रुपमा पोखरामा कविता सुनाएका छन् । पोखरेली युवा सांस्कृतिक परिवारले समता काव्य सन्ध्यामा कवि निखिललाई नायकका रुपमा उभ्याएको हो । सन्ध्यामा कवि निखिलले आफ्ना ५ वटा कविता सुनाए । कार्यक्रममा उनले कविताका नाममा, सम्बोधन मित्र रामविलास, को हराएको सूचना, शान्तिको खोज तथा निमेश लिखित कविता चित्र कविता सुनाए । कार्यक्रममा बोल्दै कवि तीर्थ श्रेष्ठले कविता फरकरुपमा लेखे मात्र कविता बाँच्ने बताए । उनले भने, ‘अलगअलग समयमा भोगेको भोगाइलाई फरक ढंगले प्रस्तुत गरे मात्र कविता बाँच्छ ।’ उनले निमेशको कविता कवि जस्तै सरल तर विचारयुक्त भएको जनाए । कवि भूपीन खड्काले कविको परिचय दिँदै उनलाई आँखामा राख्दा पनि नबिझाउने मान्छे भएको बताए । उनले भने, ‘कवि सरल छन्, हरेक चुनौतीलाई आत्मसात गर्न सक्छन् ।’ उनले समकालीन कविमा आफ्नो कविताको बारेमा बढी नै डिफेन्सिभ रुपमा आउने बताए । ‘कवि आफ्नै कविताको बचाउमा लागे कविताको सृजनशीलता मर्छ,’ उनले भने, ‘कवि निखिलमा त्यो भाव छैन ।’ सन्ध्याले प्रत्येक महिनाको पहिलो आइतबार सन्ध्यामा १ जना कविलाई नायकका रुपमा उभ्याउँदै आइरहेको छ । सन्ध्याको ३ सय २ औं सृंखलामा सन्ध्या नायकका रुपमा कवि निखिलले कविता वाचन गरेका हुन् । कवि अमृत सुवेदीले भारतीय कवि कृष्णमोहन झाको कविता ‘नितान्त एक्लो छैन’ कविता वाचन गरेर स्वागत गरे । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीपले निमेश निखिलजस्तो क्षमतावान कविलाई सन्ध्यामा उभाउन पाउँदा खुसी लागेको बताए । २०७५ असार ३ गते