पोखरेली युवा सांस्कृतिक परिवारको ४३ औँ अधिवेशन तथा साधारण सभाबाट लक्ष्मण थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । पोखरामा शनिबार भएको सभाले थापाको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ टोली चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा कौशलचन्द्र जीसी निर्वाचित भए । सचिवको जिम्मेवारी एमडी काफ्लेले पाए भने अमृत क्षेत्री कोषाध्यक्षमा चयन भए । त्यस्तै सहसचिव पदमा केशु शर्मा निर्वाचित भइन् । संस्थाको सदस्यहरुमा हसिना बस्नेत, रोशन तिमिल्सिना, अव्यग्र अस्मित, आकाश लामा र जय चापागाईं रहेका छन् । कार्यसमितिले विभिन्न विभागका लागि संयोजकहरु पनि तोकेको छ । साहित्य संयोजकमा ढाकामोहन बराल, कला संयोजकमा हेमकान्ति गुरुङ र संगीत संयोजकमा टीआर पौडेल चयन भए । पोखरेली युवा सांस्कृतिक परिवार अबको केही महिनापछि स्वर्ण महोत्सव वर्षमा प्रवेश गर्दै छ । नयाँ कार्यसमितिको काँधमा स्वर्ण महोत्सवलाई भव्य रुपमा मनाउने मुख्य जिम्मेवारी रहेको छ । यसका साथै चन्द्रलक्ष्मी सिर्जनाग्राम सञ्चालन गर्ने उद्देश्यलाई पूर्णता दिनु यो समितिको अर्को महत्वपूर्ण कार्य हुनेछ । ‘हामी स्वर्ण महोत्सव वर्ष र चन्द्रलक्ष्मी सिर्जनाग्राम सञ्चालनको जिम्मेवारीमा खरो उत्रने छौँ,’ नवनिर्वाचित अध्यक्ष थापाले भने । नयाँ समितिले संस्थाको गरिमालाई अझ उचाइमा पुर्याउने विश्वास लिइएको छ । कार्यसमितिका सदस्यहरुले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । नयाँ नेतृत्व चयनसँगै संस्थाले आफ्ना रचनात्मक गतिविधिहरुलाई निरन्तरता दिने भएको छ । कार्यक्रममा उपस्थित कलाकार र साहित्यकारहरुले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए । यो समितिले पोखराको कला, साहित्य र संगीत क्षेत्रमा नयाँ इँटा थप्ने अपेक्षा गरिएको छ ।
