समता काव्य सन्ध्याको ३९७औँ शृङ्खला प्राज्ञ सम्मानसहित सम्पन्न पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले नियमित रूपमा आयोजना गर्दै आएको मासिक काव्य वाचन कार्यक्रम ‘समता काव्य सन्ध्या’को ३९७औँ शृङ्खला तीन जना स्रष्टा प्राज्ञ सभासदमा नियुक्त भएको अवसरमा सम्मान गर्दै शनिबार पोखरामा सम्पन्न गरेको छ । वि.सं. २०३४ सालदेखि साहित्य, सङ्गीत र कलाको क्षेत्रमा निरन्तर क्रियाशील पोखरेली युवा सांस्कृतिक परिवारले संस्थाका सल्लाहकार तथा विभागीय सल्लाहकारहरू साहित्यकार दीपक समीप, लोकप्रिय गायक विनोद बानियाँ र कलाकार डि.बि. गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभासदमा नियुक्त भएकोमा सम्मान गरेको हो । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार, कलाकार तथा बिम्बकवि रमेश श्रेष्ठले तीजको शुभकामना दिँदै कविता र सिर्जनाबारे आफ्ना धारणा राख्नुभयो । उहाँले जीवनका अनुभूति र संवेदनालाई कविताका आधारभूत तत्त्वका रूपमा व्याख्या गर्दै कविता सिर्जनाका आफ्नै विधि र संरचना हुने बताउनुभयो । उहाँले आफ्ना कविता पनि वाचन गर्नुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार डा. ईश्वरमणि अधिकारी, प्राडा नवराज न्यौपाने, लक्ष्मी थापा, ढाकामोहन बराल, नारायण बास्तोला, माधव खतिवडा, गीता तिवारी, शान्ति कँडेल, तेजनारायण अधिकारी, आशीष रेग्मी, मुक्तिनाथ अधिकारी, विद्याविमल बराल, कौशलचन्द्र जिसी, रेशम गिरी, चन्द्रावती वाग्ले, देवेन्द्र चिनार, वसन्त चालिसे, नवराज बराल, कृष्ण सुवेदी, मनोज गौतम, केशु शर्मा, बिमला अधिकारी, मुनाल गोदार, मुक्तिराम अधिकारी, अक्षता पाण्डे, अम्बिका भण्डारी, रश्मि पाठकलगायतले कविता वाचन गर्नुभयो । प्राज्ञ विनोद बानियाँले आफ्ना धारणा राख्दै गजल गायनसमेत प्रस्तुत गर्नुभयो । पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’को सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मण थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव एमडी काफ्लेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
