कवितामार्फत पोखिए सामाजिक विसंगति

कवितामार्फत पोखिए सामाजिक विसंगति आदर्श समाज सम्वाददाता फागुन ७, २०७९ पोखरा । समता काव्य सन्ध्याको ३५५ औं शृंखला शनिबार पोखरामा भएको छ । ‘कला, साहित्य र संगीत हाम्रो प्रण’ भन्ने उद्देश्यका साथ २०३४ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवारले हरेक महिनाको पहिलो शनिबार नियमितरुपमा समता काव्य सन्ध्या गर्दै आएको छ । कार्यक्रममा २२ जना कविले वर्तमान सामाजिक परिवेश, राजनीतिक अवस्थादेखि पारिवारिक र शैक्षिक विकृतिमाथि कोरिएका कविता वाचन गरे । कवि एवं गजलकार बाबु त्रिपाठीले गाउँको स्मरण गर्दै कविता सुनाउनुअघि पोखराको यति ओजिलो कार्यक्रममा सहभागिता जनाउन पाउँदा खुसी व्यक्त गरे । गाउँ छाडेर सहर भित्रिएको समर्पणमा लेखिएको उनको कवितामा स्थुल शरीर सहरमा भए पनि मन भने गाउँमै रहने भाव पोखे । परिवारका अध्यक्ष उपेन्द्र पौडेल काव्य सन्ध्यामा सहभागी कविहरुको उमेर समूह हेर्दा आउँदो १०÷१५ वर्ष ढुक्क हुने अवस्था रहेको बताए । हुन पनि कार्यक्रममा सानो उमेर भए पनि पद्यात्मक कवितामा दरिलो छाप पारेका अव्यग्र अश्मितदेखि जागिरे जीवनबाट अवकाश लिएका लक्ष्मण थापासम्म सहभागी थिए । कवि मुकुन्द वस्तीको चिया चियाजस्तो थिएन शीर्षकको कविताले समकालीन परिवेशको दुरुस्त चित्रण गरेको थियो । कवितालाई अझ उचाइमा पु¥याएको थियो, उनको वाचन शैलीले । गौरी तमुका छोटा तर चोटिला कविता अनि सरस्वती प्रतीक्षाको सामाजिक क्रान्तिधार बोकेको कविताले सहभागी मन्त्रमुग्ध भए । तेजबहादुर गुरुङका चोटिला मुक्तकमा त झन् साहित्यप्रेमी मज्जाले झुमे । मञ्चबाट झर्नै लाग्दा समेत उनी फर्केर अर्को मुक्तक वाचन गर्ने वातावरण बन्यो । त्यसमाथि प्रज्ज्वल अधिकारीले चित्रकारको चित्रमाथि कोरेको कविताले सबैको मथिंगल हल्लायो । दिउँसो गजलको मेहफिलमा जमेका दीपक समीपले शासन व्यवस्था र सामाजिक विसंगतिमाथि उसैगरी प्रहार गरे । कार्यक्रममा परिवारका पूर्व अध्यक्षहरु ईश्वरमणि अधिकारी, जीवनसागर भण्डारी, सचिव चैतन्य अधिकारी, वसन्त गौतम, शिव संकल्प, शिव त्रिपाठी, शरण आशु, ढाकामोहन बरालले कविता सुनाए । माधव खतिवडा, कृष्ण सुवेदी, प्रदीप खनाल, कुमार तामाङ, रोशन तिमिल्सिना र हेमराज बास्तोलाले समेत उक्त अवसरमा कविता सुनाए ।