पोखरा। कविताको अघोषित पाठशालाका रूपमा परिचित पोखरेली युवा साँस्कृतिक परिवारले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३ सय ४३ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न भयो । काव्य सन्ध्यामा प्राज्ञ रमेश श्रेष्ठले तिन दशकसम्म अविछिन्न रूपमा चलेको कविताको अघोषित पाठशालाबाट उत्पादित कविहरू राष्ट्रिय प्रतिभा बनिसकेको चर्चा गर्दै कविताको स्कुलमा कविता सिक्न सकिन्छ कविले कविताको गौरवसँगै महत्व दर्शाउने काम गर्नुपर्ने बताए । काव्य सन्ध्यामा विम्बकवि रमेश श्रेष्ठ, ई. कौशलचन्द्र जिसी, इन्द्र राना प्रतीक, डा. चैतन्य अधिकारी, सुरेश रानाभाट, प्रकाश ज्ञवाली, रोशन तिमिल्सिना लगायतका कविहरूले आआफ्ना रचना सुनाएका थिए । ‘साहित्य, कला र सङ्गीतको उत्थान ः हाम्रो प्रण’ को गुञ्जनका साथ विक्रमाब्द २०३४ सालमा स्थापना भएको पोखरेली युवा साँस्कृतिक परिवार गण्डकी प्रदेशको वाङ्मयिक विकासमा ४४ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रि स्तरमा परिचित छ । वि.सं. २०५० वैशाखदेखि नियमित रूपमा कविता सुन्ने र सुनाउने मञ्चका रूपमा समता काव्य सन्ध्या परिचित छ । न्युरोडस्थित हिमालय रिडर्स कर्नरमा आयोजित काव्य गोष्ठीमा रोशन तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिएका थिए । परिवारका अध्यक्ष मोती भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव डा. चैतन्य अधिकारीले गरेका थिए ।
