समता काव्य सन्ध्याको ३४२ औं श्रृङ्खला

पोखरा । समता काव्य सन्ध्याको ३४२ औं श्रृङ्खला सम्पन्न भएको छ ।  पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालित समता काव्य सन्ध्याको ३४२ औं श्रृङ्खला शनिबार सम्पन्न भएको हो ।  कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठान पूर्व कुलपति सरुभक्तले आँफू संस्थापक सचिव भएको संस्थाले कुनै कार्यक्रमको ३४२ औं श्रृङ्खला चलाइ रहँदा सँस्थाको गरिमा उच्च भएकोमा खुशी व्यक्त गरे ।  बाग्मती प्रदेश सभासद नेपाल भाषाका कवि सुरेन्द्रराज गोसाईले साहित्यकार र कलाकारलाई राज्यले राज्यका सन्तान नै नठानेको र आँफू भक्तपुरको बासिन्दा भए पनि अनागिक जस्तो व्यबहार गरेको भन्दै दुःख व्यक्त गरे ।  साहित्य र कलाको माध्यमबाट पोखरा र भक्तपुरलाई जोड्दै भाषा, कला र साहित्य आदान प्रदान गर्न हातेमालो गर्न सकिने उनले बताए ।  पोखरेली युवा साँस्कृतिक परिवारका सँस्थापक सहसचिव सङ्गीतकार विक्रम गुरुङले आँफू लामो वैदेशिक बसाइपछि जन्मथलोमा आउँदा र आफ्नो मातृ संस्थाले आयोजना गरेका कार्यक्रममा बोल्न र नयाँ पुस्ताका उम्दा कविता सुन्दा नेपाली साहित्यमा अझै पनि पोखराले हस्तक्षेप गर्न सक्ने बताए । कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठान पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ, कवि ईश्वरमणि अधिकारी, दीपक समीप, लिली अधिकारी, भूमीराज बस्ताकोटी, रेशम गिरी, बिष्णुप्रसाद बास्तोला, निकेश गिरी, केशव ज्ञवाली लगायतले रचनाहरु वाचन गरेका थिए । पोयुसाँपका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य विभागकी संयोजक रीता अधिकारीले स्वागत र सहसचिव शिव त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।