‘कालो देखिए पनि सेतो देखिए पनि माछापुच्छे राम्रो देखिन्छ !’ पोखरा, ६ पुस । पोखरेली युवा साँस्कृतिक परिवारले हरेक महिनाको पहिलो शनिबार सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३७६ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न भयो । कविताको अघोषि पाठशालाका रुपमा परिचित काव्य सन्ध्यामा परिवारका संस्थापक सचिव अग्रज साहित्यकार सरुभक्तले कविता लेखनमा लगातारको मेहनत, ध्यान र अध्ययनको आवश्यकता हुने बताए । जलवायु परिवर्तनको असरले कुमारी माछापुच्छे हिमालमा हिउँ नपरेपछि कवि हृदयले कालो देखिए पनि सेतो देखिए पनि माछापुच्छे राम्रो देखेकाछन् । परिवारका सल्लाहकार तीर्थ श्रेष्ठले ३ दशकसम्म अविछिन्न रुपमा चलेको कविताको अघोषित पाठशालाबाट उत्पादित कविहरू राष्ट्रिय प्रतिभा बनिसकेको चर्चा गर्दै यसको प्रभाव मूल्याङ्कन र शोध गर्न आवश्यक भएको बताए । संस्थाका साहित्य संयोजक कवि केशु शर्माको स्वागतमा सुरु भएको कार्यक्रममा कविहरु ईश्वरमणि अधिकारी, लक्ष्मण थापा, दीपक समीप, रुपीन्द्र प्रभावी, बिष्णु अल्पविराम, शिव त्रिपाठी, अमृत क्षत्री , त्रुपक, देवेन्द्र के.सी., शिव सङ्कल्प, माधव खतिवडा, प्रदिप खनाल, एकदत्त लम्साल, गीता तिवारी, शोभा लामीछाने, सङ्गीता बराल बिसी, जमुना कायस्थ, सङ्गीता गौतम, ढाकामोहन बराल लगायतले आफ्ना रचना वाचन गरेका थिए । संस्थाका नव निर्वाचित अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव एम.डि. काफ्लेले गरेका थिए ।
