पोखरेली युवा सांस्कृतिक परिवार र प्रभु विकास बैंकद्वारा आयोजित एकल कविता वाचन

आमा हुन साह्रै असजिलो छ... भाद्र ८, २०७२कान्तिपुर संवाददाता बागलुङ — कवि तीर्थ श्रेष्ठले आमा सम्झँदै उपर्युक्त कविता सुनाउँदा प्राय: भावुक बने । बागलुङे साहित्यानुरागीहरूलाई आफ्ना कविता सुनाउन शनिबार यहाँ आएका तीर्थले पहिलो कविता नै आमाको नाममा समर्पण गरे । आमा हुन साह्रै असजिलो छ पहाड जस्तो उचाइमा पुगेर मैदान भैदिनुपर्ने मैदानमा पुगेर उकालो भैदिनुपर्ने... त्यो कविता वाचनपछि भने, ‘मैले सानैमा आमा गुमाएँ, अहिले पनि कालिगण्डकीको किनारमा कतै जल्दै गरेको चिता देखेँ भने मेरो आमाको अस्तु पनि यतै होला भन्ने लाग्छ ।’ उनले थप दुइटा कविता पनि आमासँगै जोडे । आफैंले हुर्काएका सन्तानबाट अपहेलित भएपछि वृद्धाश्रममा जीवन बिताउने अभिसप्त आमाहरूको बिलौना वर्णन गरे । देश खण्ड र अखण्डको लडाइँमा परेका बेला उनको तेस्रो कविता नेपाल आमाप्रति समर्पित थियो । उनी अतीततिर फर्किए । सानो हुँदा लाहुरेहरू गुन्टा बोकाएर चिटिक्कको झोला बोकेका लाहुेरहरू देखेकै थिए । लाहुरेको पीडा लाहुरेको श्रीमतीलाई मात्र थाहा हुन्छ । लाहुरे जीवनमा कति बेला के हुन्छ, कसलाई थाहा ? कविकै छिमेकमा लाहुरेनी घाम तापरे बसेकी हुन्थिन् । लडाइँमा पति गुमाएकी उनकै अगाडि लाहुरे फूल फक्रेको हुन्थ्यो । लाहुरेनीलाई नै जिस्क्याउने गरी । तीर्थले सुनाए– भो भैगो, कति नुनचुक छर्छौ यो घाउमा धेरै भयो, जिन्दगी नै घाउ भएको धेरै भयो, जिन्दगी नै पीडा भएको एकछिन सुस्ताउन देऊ लाहुरे फूल म घाउको पत्र पल्टाएर सन्धिको इतिहास फेर्न चाहन्छु म घाउ सुमसुम्याएर रगतको व्यापार बन्द गर्न चाहन्छु म यो इतिहासको कालो पानालाई च्यातेर फाल्न चाहन्छु पर्ख, लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु... करिब दुई दर्जन कविता, गीत र मुक्तकहरू सुनाउँदै गर्दा उनले पटकपटक श्रोताको वाहवाही पाए । उनले कवितामै देशका नेताहरूको प्रवृत्तिमाथि कसिलो व्यंग्य कसे भने मायापिरतीसँग जोडिएका मुक्तक र गीत सुनाएर प्रेमिल वातावरण पनि बनाए । उनी कवितामा फर्के अन्नपूर्ण आधार शिविर जाँदाका दिन सम्झिए, त्यही यात्राले जन्माएको अन्नपूर्ण वरिपरिपछि उनले चर्चित ‘बाघ’ सुनाउँदा झन् बढी वाहवाही पाए । गीत लेखे पनि हुन्छ कालीप्रसादहरू, नजन्माइएको सन्तान, छाया लगायतका कविता सुनाउँदै गर्दा उनी जीवन र जगत्सँग असाध्यै निकट भए । साथी सरुभक्तसँग पञ्चासे जाँदा जन्मिएको कविताबारे जानकारी पस्कँदै उनले सुनाए–  हिउँमा लेखेर आएका छौं  हामीले आ–आफ्ना नामहरू  एकैछिनपछि घाम लाग्यो भने रहने छैनन् हाम्रा नामहरू  एकैछिनपछि हिउँ थपियो भने पनि रहने छैनन् हाम्रा नामहरू  हामी हुँदै नरहने हाम्रा नामहरू, हामी नै नभएपछि कसरी रहलान् हाम्रा नामहरू ∕ परिचयको कोष्ठकभित्र तीर्थ श्रेष्ठ नअटाउने उद्घोष गरेकी कवि सरस्वती प्रतीक्षाको भनाइलाई उनले सत्य सावित गरे । सरल भाषामा गम्भीर विषयका उठान गर्दै गर्दा उनले जीवन र जगत्का कटु सत्यलाई उजागर गर्न भ्याए : म बाँस तिमीले काट्यौ, ताछ्यौ र पोल्यो सम्झेँ बर्बाद भएँ तिमीले फुक्यौ सुमुधुर स्वर निस्क्यो, सम्झेँ आवाद भएँ... करिब डेढ घन्टासम्म सुनिएका तीर्थले आफ्नो एकल कविता वाचन आमा कविताबाटै बिट मारेका थिए । यो उनको सातौँ एकल कविता वाचन कार्यक्रम हो । यसअघि प्रधानन्यायाधीश कल्याण श्रेष्ठले एकल कविता वाचन कार्यक्रमको उद्घाटन गरेका थिए । उनले कवि तीर्थका कविताहरूमा जीवन र जगत्को यथार्थता प्रतिविम्बित भएको बताए । पोखरेली युवा सांस्कृतिक परिवार र प्रभु विकास बैंकद्वारा आयोजित एकल कविता वाचनलाई बागलुङ जेसिजले सघाएको थियो । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले साहित्य देशको पहिचान भएकाले बैंकले साहित्यिक कार्यक्रमहरू गर्दै आएको जानकारी दिए । नेपाली जनजीवनका आरोह–अवरोह र संवेदनालाई सरल र सरस ढंगले कवितामा उतार्ने कवि श्रेष्ठले एकल कविता वाचनमा झन्डै ३० वटा कविता सुनाएका थिए । कवितामार्फत नै नेपाली साहित्यमा स्थापित पोखरेली कवि श्रेष्ठका कविता सुन्नका लागि बागलुङ, पर्वत, म्याग्दी, कास्की जिल्लाबाट साहित्यप्रेमी उपस्थित थिए । कवि श्रेष्ठ मोफसलमै बसेर राष्ट्रिय स्तरमा चिनिएका कवि हुन् । विसं. २०१६ सालमा जन्मेका कवि श्रेष्ठका ‘तीर्थ श्रेष्ठका कविताहरू’, ‘जिन्दगीको कुरुक्षेत्रबाट’, ‘पाइलाका निबहरूले’, ‘महाभारतको गीत’ र ‘मेरै हिमालजस्तो’ लगायतका कृति प्रकाशित भएका छन् । ‘प्रेमको पुस्तक’ नामक कविता संग्रह प्रकाशोन्मुख छ भने थुप्रै फुटकर कविता, मुक्तक, गीत विभिन्न विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाट, सचिव अर्जुन अधिकारीले तीर्थको काव्यकारिताबारे बोलेका थिए ।