गुन्जिइन् मोमिला

देशभक्त अमरसिंह थापाको तस्बिर मनमा भन्दा भित्तामै झुन्डिएको हुन्छ अचेल । कवि मोमिला भने ती तस्बिरबाटै अंग-प्रत्यंग झर्दै आएको र मुलुक पनि अधोगतितिर अघि बढिरहेको कल्पना गर्छिन् । कुनै पनि दूरदृष्टि, संवेदना र राष्ट्रिय चेत नभएको शासकहरूका कारण अमरसिंहका तस्बिर पग्लिएको र यो देख्न नसकेपछि अर्का देशभक्त भीमसेन थापाले आत्महत्या गरेको पनि स्वैरकल्पना गर्छिन् उनी । यस्तै मनोदशा समेटिएको कविता 'भीम थापाको सुसाइड नोट' कै नामबाट पछिल्लो कविता कृति निकालेकी उनले शुक्रबार पोखरामा साहित्यप्रेमीलाई मन्त्रमुग्ध पारिन् कविता र वाचनकला दुवैले, उनी भन्दै थिइन्-   सायद त्यही बेलादेखि यस देशका शासकहरू अबिरमालाले पुरिएका चेतना र हृदयशून्य केवल ठिङ्ग उभिएका सालिक जस्ता बनेको हुनुपर्दछ यस्तो अजङ्गको अभिशप्तता अन्त्य गर्न यहाँ भीमसेन थापाहरूले सालिक होइन बरू मुर्दा नै बन्नुपर्ने रहेछ ।  अमरसिंहको अंगपतनमार्फत मुलुकमा मूल्य, मान्यता र इमानदारीको स्खलन भएको सन्दर्भलाई चोटिलो र मार्मिक रूपमा पस्केकी छन् उनले 'भीमसेन थापाको सुसाइड नोट' मा । पोखरेली युवा सांस्कृतिक परिवार र र्‍यान्डम रिडर्स सोसाइटीले शुक्रबार साँझ पोखरेली साहित्यकार र साहित्य पारखीमाझ मोमिलालाई उभ्याइएको हो, उनको मधुर र जोसिलो वाचन कलाले माहोललाई निकै तताएको थियो । व्यस्त बजार चिप्लेढुंगाको डी भिलेजको सभाकक्षमा उनलाई सुन्न अटाई नअटाई भेला भएका थिए । बस्न ठाउँ नभएपछि बाहिर बसेर कविता सुन्नेहरूको हूल समेत त्यतिकै थियो । २०५२ मा पहिलोपटक उनको 'पैंयु फुल्न थालेपछि' कविता संग्रह निस्केको थियो । ठ्याक्कै १९ वर्षपछि एकल वाचन गर्ने अवसर पाएपछि हषिर्त बनेकी मोमिलाले एक घन्टा सबैलाई कवितामा एकत्रित बनाइन् । कवितामा उनले देशप्रेम, मानवीय संवेदना, प्रकृतिप्रेम तथा नारीका विषय बढी मात्र पोखिन् । वाचन गर्ने मिठो शैलीले धेरैलाई लोभ्याएको थियो । स्रष्टा परिचय दिँदै कवि तीर्थ श्रेष्ठले उनलाई प्रखर साहित्यकारको रूपमा स्थापित भएको दाबी गरे । झन्डै दुई दर्जन हाराहारी कविता सुनाउँदा उनी भने पसिनाले निथ्रुक्क भिजेकी थिइन् । साहित्यकार सरुभक्तले उनलाई पारिजातपछिको सशक्त महिला हस्ताक्षरको रूपमा स्थापित भएको प्रतिक्रिया दिए । 'अस्तित्वको वक्ररेखा कविता' बाट वाचन सुरु गरेकी उनले 'तिमी र मेरो कविता' मार्फत नारीलाई कमजोर बनाउन खोज्ने पुरुषको अहंकाररूपी आचरणलाई पनि अभिव्यक्त गरिन्- पि्रय पुरुष, तिमीले, तिमीलाई नै प्रेम गर्ने नारीवृक्षको मात्र एउटा हाँगा काटे एउटा हाँगा मात्र होइन सयौं फूलहरू निष्प्राण हुने छन् । कवितामा कतै शालीन भाव व्यक्त गरिन् भने कतै आगोजस्तै शक्तिशाली भाव र विम्ब । प्रेममा पनि उनि त्यतिकै छताछुल्ल भएर पोखिइन् । कसैप्रति समर्पित भएर प्रेम कविता पनि उनले सुनाइन् । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा तथा मदन पुरस्कार विजेता पारिजातको सम्झना दिलाउने 'एउटा लालीगुराँस हराएको बेला' शीर्षकको कविता वाचन गर्दा सभाहलले ताली मात्रै बजाएन, दुई शिखर नारी प्रतिभाको सम्झनामा भावुकता पनि प्रकट गर्‍यो । हरेक कवितामा उनले साहित्यानुरागीको बेजोड साथ पाइन् । कवि सरस्वती प्रतीक्षाले पनि उनलाई एउटा कविता वाचन गरेर सघाइन् ।   'कस्तो भूल पर्‍यो नि आमा' कविताबाट उनले एकल वाचनको मैझारो गरिन् । 'पोखरेलीको साथले धेरै हौसला मिलेको छ,' वाचनको अन्त्यमा उनले भनिन्, 'साँच्चिकै पोखरा कला, साहित्य र संगीतको राजधानी हो ।' र्‍यान्डम रिडर्सले शनिबार उनको पछिल्लो नवीनतम कृति 'भीमसेनको सुसाइड नोट' माथि पोखरामा परिचर्चा गर्दै छ । 'पैयँू फुल्न थालेपछि', 'जुनकिरीहरू ओर्लिरहेछन्', 'दुर्गम उचाइमा फूलको आँधी' लगायतका आधा दर्जनभन्दा बढी कृति निकालेकी उनले निबन्ध विधामा पनि उत्तिकै सशक्त मानिन्छिन् । धनकुटामा जन्मिएकी उनले अहिले काठमाडौंलाई साधना थलो बनाइरहेकी छन् भने दर्जनांै पुरस्कार र सम्मानको उनी भागिदार बनिसकेकी छन् ।   असार २८, २०७१ शिव शर्मा