समता काव्य सन्ध्या’को ३७८ औँ शृङ्खला सम्पन्न

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित ‘समता काव्य सन्ध्या’को ३७८ औँ शृङ्खला सम्पन्न भएको छ। तीस वर्षदेखि निरन्तर चलिरहेको यस कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले प्रमुख अतिथिको आसनबाट शुभकामना व्यक्त गर्दै पोखराको जैविक, सांस्कृतिक र प्राकृतिक विविधतालाई कविहरूले आफ्नो लेखनमा समेट्नुपर्नेमा जोड दिनुभयो। उहाँले विश्वव्यापी रूपमा बढिरहेको पर्यावरणीय कविता लेखनको महत्त्व उल्लेख गर्दै यस दिशामा नेपाली साहित्यकारहरूले थप गम्भीरतापूर्वक काम गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा परिवारका सल्लाहकार डा. ईश्वरमणि अधिकारी, छवि सुवेदी, लक्ष्मी थापा, कोशलचन्द्र जिसी, ढाकामोहन बराल, गीता तिवारी, पुछारघरे, हेमन्त हितैषी, एकदत्त लम्साल, भरतराज कोइराला, दीपक अधिकारी र सुबिका घिमिरे लगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो। लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केशू शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिव त्रिपाठीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा उपस्थित कविहरूले पोखराको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधतालाई आफ्ना कवितामा उतार्ने प्रतिबद्धता जनाउनुभएको थियो ।