पोखराको सबैभन्दा जेठो साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारले जनकवि केशरी धर्मराज थापाको शतवार्षिकी भव्यताका साथ मनाएको छ। कार्यक्रममा भाषा, साहित्य र गीतसंगीतका माध्यमबाट देशको सेवा गर्ने जनकविप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सरुभक्तले जनकवि केशरी धर्मराज थापा जस्तो बहुआयामिक प्रतिभाशाली व्यक्तित्व दोहोरिन गाह्रो रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “उहाँको चेतनामा ईश्वर नै कवितामा हुन्थ्यो। मदन पुरस्कार र जगदम्बा पुरस्कार दुवै पाउने उहाँ एक्लो नेपाली हुनुहुन्थ्यो। त्यो समयमा पनि देशभरि घुमेर उहाँले मोटा–मोटा पुस्तक लेख्नुभयो। उहाँ कवि मात्र नभई अनुसन्धानकर्ता पनि हुनुहुन्थ्यो। नेपाल, भारतको पूर्वी भूभाग हुँदै बर्मासम्म पुगेर नेपाली भाषा, गीतसंगीत, नेपालीत्व र नेपाली चेतनाको प्रकाश फैलाउने उहाँको योगदान अतुलनीय छ।” पोखरेली युवा सांस्कृतिक परिवारले यस प्रकारको कार्यक्रम आयोजना गरी जनकविप्रति सम्मान प्रकट गरेकोमा उहाँले प्रशंसा गर्नुभयो। जनकवि केशरीका जेष्ठ सुपुत्र मदनराज थापाले आफ्ना पिता केवल कवि मात्र नभई अन्वेषक, निम्न वर्गीय जनताका मित्र, लोक संगीतका धरोहर तथा समाजमा नवीन चेतनाको प्रवाह गर्ने प्रयोगधर्मी व्यक्तित्व भएको बताउनुभयो। त्यस्तै, अर्का सुपुत्र कुन्जराज थापाले जनकवि केशरी बिहान ३ बजे उठेर नित्यकर्मपछि लेखनमा जुट्ने गर्नुहुन्थ्यो र मनमा लागेका, देखेका र सुनेका कुरा लेख्नुहुन्थ्यो भन्ने जानकारी दिनुभयो। कार्यक्रममा लोक गायिका हरिदेवी कोइराला र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले जनकवि केशरीका गीतहरू गाउनुभएको थियो भने डा. ईश्वरमणि अधिकारी र केशु शर्माले कविता वाचन गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष लक्ष्मण थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य शिव संकल्पले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहसचिव हसिना बस्नेतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा जनकवि केशरीको जीवन र कृतित्वको चर्चा गर्दै उहाँको योगदानलाई सम्झिनु भएको थियो ।
