चर्चित गायक अरुण थापाको २२ औ स्मृति दिवस अरुण स्मृति सांगीतिक कार्यक्रम

गायक अरुण थापाको सम्झनामा साङ्गीतिक कार्यक्रमहुने समाचार पोखरा,६ साउन पोखरेली युवा साँस्कृतिक परिवारले सदावहार गायक अरुण थापाको सम्झनामा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । गायक थापाको २२ औं स्मृति दिवसको अवसर पारेर परिवारले स्व.अरुण थापा स्मृति दिवस–साङ्गीतिक कार्यक्रमलाई निरन्तरता दिने भएको हो । कार्यक्रम साउन ९ गते सनिबार दिउँसो ४ बजे हुने जनाइएको छ । गीतसङ्गीतमार्फत सदावहार गायक अरुण थापाप्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम तय भएको पोयुसापका अध्यक्ष मोती भुजेलले बताए । अध्यक्ष भुजेलका अनुसार सो कार्यक्रम पोखराको न्यूरोडस्थित ‘न्यूरोड रोधी ल्कव’मा सम्पन्न गरिने तयारी रहेको छ । पोखरेली युवा साँस्कृतिक परिवारका संस्थापक सदस्य समेत रहेका अरुण थापाको वर्षौं देखि निरन्तररुपमा अरुण थापाको स्मृतिमा साङ्गीतीक कार्यक्रम गर्दै आएको परिवारले यो वर्ष पनि यसलाई निरन्तरता दिएको पोयुसापका सङ्गीत संयोजक एम.डी. काफ्लेले बताए । कोभिड १९ का कारण विगतको जस्तो धेरै संख्यामा उपस्थिति गराएर कार्यक्रम गर्न नसकिएको भन्दै उनले संख्यात्मक रुपमा थोरै मानिसहरुको उपस्थिति रहे पनि गुणात्मक रुपमा कार्यक्रम भब्य गर्ने तयारी गरिएको बताए । संस्थाका सङ्गीत विभागका सल्लाहकार एवं गायक विनोद बानियाले कार्यक्रम एनएन टिभीमार्फत घरमै बसेर हेर्न सकिने तथा परिवारको फेसबुक र युट्युब च्यानलमार्फत जहाँ बसेर पनि प्रत्यक्ष प्रसारण हेर्न सकिने प्रबन्ध मिलाइएको बताएका छन् । वि.सं.२००९ साल माघ ११ गते बाबु गाजप्रसाद थापा र आमा शान्ति थापामगरको प्रथम सन्तानको रूपमा अरुण थापममगरको जन्म भारतको कलकत्ता स्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो । वि.सं. २०३० सालमा पोखरा आएर बसोबास गर्न थालेका गायक तथा संगीतकार थापाको पोखरासँग गहिरो सम्वन्ध गरेको कवि तीर्थ श्रेष्ठले जानकारी दिए । अरुण थापाले पोखरामा पहिलो पटक ३० को दशकमै पोखरेली युवा साँस्कृतिक परिवारको पनि पहिलो कार्यक्रममा गीत, संगीत प्रस्तुत गरेका थिए । जीवनमा धेरै उताडचडाप खेपेका थापाले २०५६ साउन ५ गते प्राण त्यागेका थिए । स्वर सम्राट नारायण गोपाल र गोपाल योन्जन उनका पारिवारिक मित्र थिए। प्रेम र बिबाह दुबैमा असफल गायक थापाका अनेकौं किस्सा सुन्नमा पाइन्छ। उनको व्यक्तिगत जीवन छोटो भए पनि सांगीतिक जीवन भने अमर अजर रहेको छ। अरुण थापा नेपाली सांगीतिक क्षेत्रका त्यस्ता नक्षत्र हुन् जसले थोरै गीत गाएर पनि आफूलाई अब्बल गायकको रुपमा स्थापित गरे । गायक थापाका ’जति माया’, ’साँझको जुनसँग’, ’भुलुँभुलुँ लाग्यो मलाई’, ’बितेका मेरा तिता मिठा’, ’ऋतुहरुमा तिमी’, ’दोष कसैलाई दिन चाहन्न’, ’चोट के हो, व्यथा के हो’, ’अरुसँग नजोख मलाई’, ’जिन्दगी के छ र आखिर’ र ’आँखाको निद खोशी लाने’ लगायत गीतहरु चर्चामा छन्