पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष जीवनसागर भण्डारीको मुक्तक सङ्ग्रह ‘असुरक्षित गुलाब’ पोखरामा लोकार्पण गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्तले उक्त सङ्ग्रहको लोकार्पण गर्नु भएको हो । पोखरा महानगरपालिका वडा नम्बर ३३ बाघमारामा जन्मनुभएका मुक्तककार जीवनसागरको यो पहिलो प्रकाशित कृति हो । असुरक्षित गुलाब सङ्ग्रहमा १ सय ७ वटा मुक्तक रहेका छन् । साथी सङ्गतीकै कारण कृति प्रकाशन गर्ने आँट गरेको मुक्तककार भण्डारीको भनाई छ ।‘मलाई साथीसङ्गतीले पाण्डुलिपि सिरानमुनी नराखी ननिदाउने मान्छे भनेर गिज्याउन थाले । लेखोस्। छापोस्, भनेरै गरिएको यो सिर्जनात्मक खिसीटिउरीले मलाई कति उर्जा थप्यो, त्यो मापनीय नै छैन । लेख्नुपर्छ जस्तो लाग्यो–लेखिरहेँ, हेरिरहेँ, केरिरहेँ, फालिरहेँ र फेरि लेख्न थालिरहेँ । प्रकाशनको हतारो कहिल्यै गरिन । ठिक गरेँ या बेठीक त्यतातिर सोचेकै छैन’ भण्डारीले भन्नुभयो । आफ्नो कृतिले पाठकको माया पाएको खण्डमा सिरानमुनी राखिएका अन्य पाण्डुलिपी प्रकाशन गर्ने उहाँ बताउनुहुन्छ । ‘फरक–फरक विधाका केही पाण्डुलिपीहरु लगभग सिरानमुनी नै छन् । निकाल्ने, हेर्ने गरिरहन्छु तर केमा चित्त बुझ्दैन केमा, मनले सही छ भन्ने ठम्याएछ भने फेरिफेरि प्रकाशित भइरहनेछु’ भण्डारीले थप्नुभयो । कृतिमा समसामयिक विषयवस्तु तथा राष्ट्रप्रेमलाई दह्रोगरी उठाइएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा भएको कार्यक्रममा कवि तथा परिवारका पूर्व अध्यक्ष ईश्वरमणि अधिकारीले श्रष्टाको परिचय गराउनु भएको थियो । कृति माथि सञ्जीव पौडेलले समीक्षा गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्राज्ञ तीर्थ श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ, पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष दीपक समिप लगायतले भण्डारीको साहित्यिक जीवनको सफलताको शुभकामना दिुनभयो । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतमा भएको कार्र्यक्रममा स्वागत परिवारका साहित्य संयोजक रीता अधिकारी रीतु र सञ्चालन सचिव डा.चैतन्य अधिकारीले गर्नुभएको थियो । कृतिको प्रकाशक पोखरेली युवा सांस्कृतिक परिवार हो ।
