समता काव्य सन्ध्याको ३८३औं शृंखला सम्पन्न

पोखरेली युवा सांस्कृतिक परिवारले तीसको दशकको पूर्वार्धदेखि नै साहित्य, संगीत र कलाको त्रिवेणीका रुपमा वाङ्मयको सेवा गर्दै आएको छ। यसले गर्ने नियमित कार्यक्रममध्ये प्रत्येक महिनाको पहिलो शनिबार ‘समता काव्य सन्ध्या’, प्रत्येक दुई महिनामा ‘समता सांगितिक कार्यक्रम’ र प्रत्येक ३ महिनामा ‘समता कला कार्यशाला’ हुने गर्दछन्।यसै सन्दर्भमा साउन ३ गते शनिबारको साँझ ‘समता काव्य सन्ध्या’ कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा परिवारका पूर्व अध्यक्ष एवं सल्लाहकार डा. ईश्वरमणि अधिकारीले कविताको शक्ति, सौन्दर्य र सीमामाथि आफ्ना दृष्टिकोण राख्दै कविताको विराट आयाम र महत्ता मानव सभ्यताको शुरुवातदेखि हालसम्म नै उत्तिकै महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे। सकभर कम शब्दमा बहुआयामिक अर्थ सम्प्रेषण सहित हृदय र मष्तिस्कलाई एकैसाथ स्पर्श गर्नसक्ने कविताहरू कालजयी हुने र त्यसैको प्रयत्न गर्नु नै कविताको आराधना गर्नु हो भन्ने उनको भनाइ थियो। त्यसैगरी अर्का पूर्व अध्यक्ष एवं सल्लाहकार दीपक समीपले ‘सशक्त कविताको स्पर्श्य सामर्थ्यले मनका तारहरु झंकृत भै परमानन्द प्राप्त गर्न सकिने’ बताए। कार्यक्रममा वरिष्ठ कवि सरस्वती एवं साहित्य विभागकी सल्लाहकार सरस्वती श्रेष्ठ सरु, कार्यसमिति सदस्य शिव त्रिपाठी, -याण्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी, संगीता बराल, रोशन तिमिल्सिना, रेशम गिरी, धनबहादुर नेपाली, वसन्त चालिसे, लक्ष्मी थापा, चन्द्रावली वाग्ले, अल्पविराम पोखरेली, गीता तिवारी, डा. नवराज न्यौपाने, ढाकामोहन बराल, जमुना कायस्थ, सूरज पौडेल, विष्णुप्रसाद बास्तोला, प्रेरणाकुमारी, मुक्तिनाथ अधिकारी लगायतले आफ्ना स्तरीय कविताहरु वाचन गरेर कार्यक्रमलाई काव्यमय बनाएका थिए। संस्थाका उपाध्यक्ष लक्ष्मण थापाको सभापतित्वमा भएको कार्यक्रममा साहित्य विभागकी संयोजक केशु शर्माले स्वागत मन्तव्य दिएकी थिइन् भने सचिव एमडी काफ्लेले कार्यक्रम संचालन गरेका थिए।