समता काव्य सन्ध्याको ३८७औँ शृङ्खला सम्पन्न

 पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गर्दै आएको मासिक काव्य कार्यक्रम ‘समता काव्य सन्ध्या’को ३८७औँ शृङ्खला शनिबार पोखरामा सम्पन्न भएको छ। साहित्य, सङ्गीत र कलाको समन्वित प्रस्तुति गर्दै आएको यो कार्यक्रम संस्थाको दीर्घ साहित्यिक यात्राको निरन्तरता हो। कार्यक्रमका प्रमुख   अतिथि सरुभक्तले काव्य सन्ध्याले ३२ वर्षको यात्रा पूरा गरिसकेको उल्लेख गर्दै हालै सिक्किमको गान्तोक भ्रमणका क्रममा देखिएको कञ्चनजङ्गाको झलकबाट प्रेरित मुक्तक वाचन गर्नुभयाे । उहाँले पोखरेली युवा सांस्कृतिक परिवार पाँच दशकदेखि निरन्तर सक्रिय रहँदै आएको र छिट्टै स्वर्ण जयन्ती मनाउने चरणमा पुगेको बताउँदै साहित्यकारहरूले सिर्जनामार्फत वाङ्मय उन्नयनमा योगदान गर्नुपर्नेमा जोड दिनुभयाे । कार्यक्रममा साहित्यकार डा. ईश्वरमणि अधिकारी, दीपक समीप, लोचना अधिकारी, भीम रानाभाट, संगीता आभास, विष्णु बास्तोला, पूर्णिमा प्रतिबिम्ब, कौशलचन्द्र जिसी, हिममाया पौडेल, चारघरे ठिटो, एकदत्त लम्साल, मुक्तिनाथ अधिकारी, आन्वी शर्मा, रेशम गिरी, दीपकराज अधिकारी र जमुना कायस्थलगायतका स्रष्टाहरूले आफ्ना रचना वाचन गर्नुभएकाे थियाे । कार्यक्रम परिवारका उपाध्यक्ष लक्ष्मण थापाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। सदस्य शिव संकल्पले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने सचिव एमडी काफ्लेले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।