समता साङ्गीतिक कार्यक्रमको १०५औं शृंखला सम्पन्न

पोखरेली युवा सांस्कृतिक परिवारद्वारा द्वैमासिक रूपमा सञ्चालन हुँदै आएको ‘समता साङ्गीतिक कार्यक्रम’को १०५औं शृंखला शनिबार बिहान विन्ध्यवासिनी मन्दिरको सभाकक्ष, पोखरामा सम्पन्न भएको छ। वि.सं. २०३४ देखि निरन्तर सक्रिय रहँदै आएको यो अग्रणी वाङ्मयिक संस्थाले साहित्य, संगीत र कलालाई एकै ठाउँमा जोड्दै सार्थक सांस्कृतिक वातावरण सिर्जना गर्दै आएको छ। कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व सङ्गीतकार सुनिल थापाले दिनको सुरुवात उत्कृष्ट संगीतले गर्दा प्रेरणादायी बनाएको बताउँदै कलाकारहरूलाई निरन्तर अभ्यास र आत्म–संघर्षमार्फत अघि बढ्न प्रोत्साहित गर्नुभयाे । “लप्सीको बियाँ पनि जति घोट्यो उति घुम्छ, कलाकार पनि निरन्तर तिखारिन्छ,” थापाले भने, “संघर्ष र निरन्तरता नै सफलताको बाटो हो।” कार्यक्रममा कर्णप्रिय संगीतालय, साङ्गीत प्रशिक्षण केन्द्र, जोजिजू म्युजिक सेन्टर, त्रिवेणी संगीतालय तथा शास्त्रीय संगीत समाजका प्रशिक्षार्थी तथा कलाकारहरूले आकर्षक प्रस्तुति दिनुभयाे । प्रस्तुति दिनेहरूमा  शर्मिला बिक, अमिषा परियार, कोमल गुरुङ, सुमन भण्डारी, पूर्णिमा रसाइली, कुशल घताने, अभिषेक भुसाल, पिङ्गला भट्ट, राजन बराल, प्रकृति राई, जय चारागाइँ, एमडी काफ्ले लगायतका कलाकारहरू रहनुभएकाे थियाे । वाद्यवादनमा हार्मोनियममा देविन्द्र ढकाल, नवराज बराल, तबलामा रोम तामाङ, गितारमा अभिषेक भुषाल, टेम्पोरियममा  समीर साउन्ड सिस्टम व्यवस्थापन: जय चापागाईद्वारा सहयोग प्रदान गरिएको थियो। कार्यक्रम परिवारकी उपाध्यक्ष लक्ष्मण थापाको सभाध्यक्षत्वमा सम्पन्न भएको थियो। स्वागत साहित्य विभागकी संयोजक केशु शर्माले तथा कार्यक्रम सञ्चालन सचिव एमडी काफ्लेले गर्नुभएको थियो।