समता काव्य सन्ध्याको ३९८औं शृङ्खला सम्पन्न

पोखरा, असोज ३ गते । समता काव्य सन्ध्याको ३९८ औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ । साहित्य, सङ्गीत र कलाको क्षेत्रमा विगत ४९ वर्षदेखि अविछिन्न कार्यरत पोखराको जेठो वाङ्मयिक संस्थाका रूपमा क्रियाशील पोखरेली युवा सांस्कृतिक परिवारको मासिक काव्य वाचन कार्यक्रम समता काव्य सन्ध्याको सो शृङ्खला सम्पन्न भएको हो । परिवारका नवचिर्वाचित अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रमका संस्थाका पूर्वअध्यक्ष एवम् सल्लाहकार सुप्रसिद्ध कलाकार तथा विम्बकवि रमेश श्रेष्ठले पोखरेली युवा सांस्कृतिक परिवारले स्रष्टाको रुचि र क्षमताअनुसारका कला, साहित्य र सङ्गीतमध्ये जुनसुकै मञ्च प्रयोग गर्न सक्ने अवसर दिनु खुसीको कुरा भएको धारणा राखे । संस्थाका सल्लाहकार डा. ईश्वरमणि अधिकारीले आफू कविताकै विद्यार्थी भएको महसुस हुने भन्दै कविता लेख्नु कविताको आराधना गर्नु भएको विचार राखे । कार्यक्रममा प्राज्ञ दीपक समीप, रीता अधिकारी ऋतु, लक्ष्मी थापा, ढाकामोहन बराल, कौशलचन्द्र जिसी, अमृत, गीता तिवारी, काजी गाउँले, तेजनारायण अधिकारी, एकदत्त लम्साल, गीता तिवारी, देवेन्द्र चिनार, वसन्त चालिसे, विकास लुङ्गेली, कृष्ण सुवेदी, अक्षता पाण्डे, जमुना कायस्थलगायतले गर्दै आफ्ना कविता वाचन गरेका थिए । साहित्य विभागका संयोजक ढाकामोहन बरालले स्वागत र  सचिव एमडी काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए ।