३३३ औं समता काव्य सन्ध्या सम्पन्न पोखरा, १ फागुन २०७७। पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३३३ औं शृङ्खला सम्पन्न भयो । कोभिड–१९ को असर मा पनि पोयुसाले समता काव्य सन्ध्यालाइ निरन्तरता दिंदै ११ ओटा शृङ्खला भच्र्युल रुपमा सम्पन्न गरिसकेको छ । कोरोना कहर पछिको यो पहिलो खुला शृङ्खलामा कवि लिली अधिकारी यसरी सुनिन्छीन् न्याउलीको स्वरमा मन रुँदा खहरेझैं उर्लेको आँसु थाम्न एक्लो हुनुको पर्खाल भत्काइदिने साथ चाहिँदो रहेछ प्रेम दिवसको छेको परेकोमा प्राय सबै स्रष्टाले प्रेमिल रचना सुनाए । मानें, तिमी पीपल म बाँस नै सहि आऊ, एक अर्काको अस्तित्व स्वीकार गरौं छहारी मेरो पनि छ तर म चौतारी बनेर उभिने रहर गर्दिन तिमी बिर्सेर पनि बाँसुरी बनेर गुन्जिने सपना नदेख्नु जीवनसागर भण्डरीको यो कविता सुनेपछि माहोल झन प्रेमिल बनिरहेको थियो । तर अचानक शंका उत्पन्न भयो । प्रकाश आचार्य माथी सिंहदरबारको विशाल कोठा भित्र एउटा ऐना उभीरहेछ चुपचाप जो एक सुन्दर मजदुरको कुरुप प्रतिविम्व देखाइ रहेछ र देखाइ रहेछ कुरुप मालीकको सुन्दर प्रतिविम्व रिसाउँदै ढुङ्गा बर्साइ रहेछ मजदुर ऐनाको छातीमा तर ऐना न चर्कन्छ, न फुट्छ मलाई शङ्का छ हजुर के यो ऐना सिसाकै हो ? कार्यक्रममा ईश्वरमणी अधिकारी,लक्ष्मण थापा,विष्णु अल्पविराम,दिपक समिप,जीवनसागर भण्डारी,प्रकाश ज्ञवाली,डा.बसन्त गौतम,विष्णु बास्तोला,रुपीन्द्र प्रभावी,रिता अधिकारी,शिव त्रिपाठी,लिली अधिकारी,ध्रुव बराल,लोचना अधिकारी,प्रकाश आचार्य,चन्द्रवती वाग्ले,जनक दुलाल,विरेन्द्र पौडेल लगायतका कविहरुले आफ्ना सिर्जनाहरु वाचन गरेका थिए । परिवारका साहित्य सँयोजक रिता अधिकारीले स्वागत मन्तव सहित रचना वाचन गरेका थिए । संस्थाका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पोयुसाका उपाध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए ।
