समता कला कार्यशालाको ५४ औं शृङ्खला

पोखरा, २३ बैशाख ।  पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक तीन तीन महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालाको ५४ औं शृङ्खला शनिबार  पश्चिम क्षेत्रीय संग्रहालय पोखरामा सम्पन्न भयो ।  विषेस अथिति पश्चिम क्षेत्रीय संग्रहालयका प्रमुख सन्दीप खनालले वरिष्ठ कलाकार र अनुज कलाकारहरुको कलालाइ एकै ठाउँमा राख्न संग्रहालय भित्र एउटा ग्यालरी थप्न सकिने बताए ।  कला कार्यशालाका सहभागी कलाकारहरुलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार वुद्वि गुरुङले कलाकारले प्रकृतिसँग साक्षत्कार गर्नै पर्छ, तत्स्थानीय चित्राङ्कन गर्नु चुनौतीपूर्ण भए पनि त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नु नै कलाकार सफल हुनुको रहस्य उद्घाटन गरे । तिसको दशकदेखि सुरु भएको तत्स्थानीय चित्राङ्कनले नै पोखरालाई पानी रङको सहरका रुपमा चिनाएको बताए ।  कार्यक्रममा कला नायक वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थले अग्रज र अनुजहरु एउटै थलोमा बसेर कला सिर्जना गरिने हुनाले अनुजहरुले यस्तो कला कार्यशाला बाट धेरै कुरा सिक्ने मौका मिल्ने बताए ।  कला कार्यशालमामा वरिष्ठ कलाकार बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, गोपाल श्रेष्ठ, यादव चन्द भुर्तेल,युवराज लामीछाने, ज्योति गुरुङ, हेमकान्ती गुरुङ, सन्तोष भण्डारी, उज्जवल अधिकारी, मिना गुरुङ, एलिटा गुरुङ, लक्ष्मी तिलिजा पुन, नेन्सीला गौचन र विदा शाक्य लगायतका कलाकारले पानी रङ माध्यमको प्रयोग गरि प्रकृति र जीवन जगतलाई  कलामा उतारेका थिए ।   परिवारका कोषाध्यक्ष मोती भुजेलको सभापतित्वमामा सम्पन्न उक्त कला कार्यशालाको सञ्चालन सचिव अर्जुन अधिकारीले गरेका थिए भने स्वागत र धन्यवाद ज्ञापन कला संयोजक हेमकान्ती गुरुङले गरेकी थिइन  ।