सरुभक्तका कविता लोकार्पण

साहित्यकार सरुभक्तको ५० वर्ष लामो कविता यात्राको लेखाजोखा समेटिएको बृहत् कृति ‘सरुभक्तका कविता’ शनिबार पोखरामा लोकार्पण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा सरुभक्तको आधा शताब्दीको काव्यिक साधनालाई एउटै ठेलीमा सार्वजनिक गरिएको हो । सरुभक्त सरोकार केन्द्रले प्रकाशन गरेको ६ सय ४२ पृष्ठको पुस्तक ७ वटा कविता संग्रहको एकीकृत रुप हो । कार्यक्रममा सरुभक्तले कवितालाई अन्तःचेतनाको अहम्जन्य अभिव्यक्ति र आत्मसम्बोधनका रूपमा व्याख्या गरे । सिर्जना गर्ने तृष्णालाई नै जीवन मान्ने उनले कविता शब्दब्रह्मको संगीत भएको र यसलाई नवीन एवं मौलिक अन्तर्दृष्टिले सन्धान गरिनुपर्ने बताए । ‘क्षणिक अवस्थाले हिमाल, नदी र महासागरको अस्तित्व मेटिँदैन भन्ने मेरो कवित्वको विश्वास छ,’ उनले भने ।लोकार्पण गरिएको यस संग्रहमा सरुभक्तका प्रकाशित र अप्रकाशित कविताहरू समेटिएका छन् । विसं २०३८÷३९ सालमा रचना गरिएको ‘बोक्सीको आह्वान र घोषणापत्र’ आफ्नो पहिलो काव्य रचना भएको जानकारी दिँदै उनले यसलाई विसं २०४० मा पुस्तकका रूपमा प्रकाशन गरेको बताए । यसअघि ‘क्यानभास र शब्दविम्ब’, ‘कवि, प्रेमी र पागल’, ‘प्रयोगशाला भित्र’ र ‘इतर समय’ जस्ता कृतिहरू प्रकाशन गरिसकेका उनले यस संग्रहमा अटाउन नसकेका कविताहरूलाई भविष्यमा दोस्रो खण्डका रूपमा प्रकाशन गर्ने लक्ष्य राखेका छन् । यस कृतिको प्रकाशनमा उनका भान्जा अभिषेक श्रेष्ठले आर्थिक सहयोग गरेका हुन् । कार्यक्रममा वरिष्ठ कलाकार वात्स्यायनले ५० वर्षअघि तीर्थ श्रेष्ठमार्फत विजय बजिमयको घरमा सरुभक्तलाई पहिलो पटक भेटेको स्मरण गरे । युवावस्थादेखि नै सरुभक्त अरूभन्दा भिन्न स्वभावको रहेको बताउँदै वात्स्यायनले उनको त्यो अनुशासन र साधना अहिले पनि कायम रहेको उल्लेख गरे । उनले विगतको एउटा प्रसंग सुनाउँदै भने, ‘तीर्थ श्रेष्ठ, उषा शेरचन र हामीहरू वनभोज जाने निधो भयो, तर गाडीमा रक्सीको ग्यालिन देखेपछि सरुभक्त गाडीमै चढेनन् र वनभोज नै गएनन् ।’ सरुभक्तले आफ्नो निरन्तरको साधनासँग कहिल्यै सम्झौता नगरेको र अनुशासन नतोडेको वात्स्यायनको भनाइ थियो । साहित्यकार उषा शेरचनले यो संग्रह आधा शताब्दी लामो साहित्यिक तपस्याको प्रतिफल भएको बताइन् । सरुभक्तलाई साहित्यका सबै विधामा सशक्त कलम चलाउन सक्ने बहुविधाका स्रष्टाका रूपमा चित्रण गर्दै यो महाग्रन्थले नयाँ पुस्तालाई समयसँग जुध्न र आफ्नो चेतना पहिचान गर्न सिकाउने विश्वास उनले व्यक्त गरिन् । आफ्नो साहित्यिक यात्रा स्मरण गर्दै शेरचनले विगतको संकुचित समाजमा पुरुष स्रष्टाहरूको माझमा हिँड्दा आफूले दोहोरो संघर्ष गर्नुपरेको उल्लेख गरिन् । पोखराको माछापुच्छ्रे, फेवा र सारंगीको धुनले हुर्काएको यो साहित्यिक चेतना समग्र नेपाली साहित्यकै गौरव भएको उनको भनाइ थियो । गायिका तथा साहित्यकार हरिदेवी कोइरालाले सरुभक्तलाई नेपाली साहित्य आकाशका एक तपस्वी, साधक र दार्शनिकका रूपमा चित्रण गरिन् । सरुभक्तको जीवनशैली र कलालाई अनुपम उदाहरण मान्दै उनको अभिभावकत्वमा नयाँ पुस्ताले आत्मीयता पाएको उनले बताइन् । बाल साहित्यदेखि, गजल, मुक्तक र गीतिकाव्यसम्म सरुभक्तको कलम सशक्त रूपमा चलेको चर्चा गर्दै कोइरालाले उनलाई ‘साहित्य सागर’ को संज्ञा दिइन् । पूर्णकालीन रूपमा कलम घोटेर राष्ट्र र समाजका लागि बाँच्ने उनको जीवनशैली सबैका लागि अनुकरणीय रहेको कोइरालाले उल्लेख गरिन् । कवि तथा कलाकार रमेश श्रेष्ठले सरुभक्त ‘मास’ का नभई ‘क्लास’ का कवि भएको बताए । साहित्य सिर्जनाका लागि जीवन र जगतको कथा हृदयदेखि पढ्न जरुरी रहेको र यसमा सरुभक्त पोख्त रहेको उनको भनाइ थियो । साहित्यकार एवं पुस्तक प्रकाशन केन्द्रकी सदस्य सरस्वती प्रतीक्षाले ३ सय १३ कविता समेटिएको यो संग्रह आफैँमा इन्द्रेणी जस्तै रहेको बताइन् । कविता सिक्नेहरूका लागि यो संग्रह पाठशाला र विशिष्ट अध्येताका लागि विश्वविद्यालय भएको उनको तर्क थियो । ७ सय रुपैयाँ मूल्य राखिएको यस पुस्तकको लोकार्पण समारोहमा नाट्यकर्मी अनुप बराल, कवि ईश्वरमणि अधिकारी, कलाकार प्रकाश घिमिरे लगायतको उपस्थिति थियो । संस्थाकी अध्यक्ष रीता अधिकारी ऋतुको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण थापाले स्वागत गरेका थिए ।